काठमाडौँ । उपत्यका प्रहरी कार्यालय र मातहतका एकाइहरूले चालू आर्थिक वर्ष २०८३-८४ को प्रथम त्रैमासिक (श्रावण, भाद्र र असोज) अवधिमा उपत्यकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनमा ठूलो सफलता हासिल गरेका छन्।
प्रहरीले यस अवधिमा फरार रहेका १,१६२ जना कसुरदारहरूलाई पक्राउ गरी ३०२ वर्षभन्दा बढी कैद र १५ करोड ७८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गराएको छ। साथै, विभिन्न कारागार र थुनाबाट फरार रहेका थप ६७ जना कैदीहरूलाई पनि नियन्त्रणमा लिइएको छ।
सहरी क्षेत्रमा अपराध रोक्न प्रहरीले प्रविधिको प्रयोग गर्दै २३ हजारभन्दा बढी मोबाइल गस्ती, २० हजारभन्दा बढी पैदल गस्ती र ६ हजारभन्दा बढी आकस्मिक चेकिङ सञ्चालन गरेको थियो। लागुऔषध कारोबारविरुद्ध शून्य सहनशीलता अपनाउँदै प्रहरीले ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरेको छ भने ठूलो मात्रामा गाँजा, पोल्याण्ड, खैरो हेरोईन र नियन्त्रित औषधीहरू बरामद गरेको छ। आर्थिक अपराधतर्फ हुण्डी कारोबारमा संलग्न ५ जनालाई १ करोड ६० लाख बढी बिगो मागदाबीसहित कारबाही अघि बढाइएको छ भने भन्सार छलीको २३ केजी ८८८ ग्राम सुनसहित २७ जनालाई पक्राउ गरिएको छ। जुवातास नियन्त्रणतर्फ ११९ जनालाई पक्राउ गरी ४१ लाख ४३ हजार रुपैयाँभन्दा बढी नगद जफत गरिएको छ।
नागरिक सुरक्षाका लागि सञ्चालित ‘स्विप अपरेशन’ मार्फत २,७३४ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई छानबिन गरिएको छ। सार्वजनिक स्थानमा हुने महिला दुव्र्यवहार रोक्न सञ्चालित ‘सेफ्टी पिन अपरेशन’ मार्फत ६३७ जनालाई पक्राउ गरी ६३ जनामाथि गम्भीर मुद्दा दर्ता गरिएको छ भने बाँकीलाई सचेत गराएर छाडिएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने ६,९९० जना चालकहरूलाई कारबाही गरिएको छ। साथै, हराएका ५२१ सवारी साधनमध्ये २५७ वटा फेला पारी २२१ वटा धनीलाई जिम्मा लगाइएको छ।
असोज १८ देखि कार्तिक १८ गतेसम्म सञ्चालित एक महिने ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना’ मा ८,६६८ जना प्रहरी जनशक्ति प्रत्यक्ष परिचालन गरिएका थिए। यस अवधिमा ३७ वटा हेल्प डेस्क, २२ वटा नाका चेकिङ, सिसिटिभी र ड्रोनमार्फत उच्च निगरानी राखिएको थियो। चाडपर्वका बेला अवैध जुवातास खेल्ने ९१ जनाबाट २८ लाख ७९ हजार रुपैयाँ नगद बरामद गरिएको छ भने ३४ हजारभन्दा बढी पिस र १३ हजारभन्दा बढी प्याकेट अवैध पटाकासहित १२ जनालाई पक्राउ गरिएको छ।
प्रहरीले चाडपर्व मनाउने नाममा जुवातास खेल्ने–खेलाउने र पटाका पड्काउने जस्ता गैरकानुनी कार्य नगर्न नागरिकहरूलाई आग्रह गरेको छ। साथै, सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले ढुक्क भएर दीपावली तथा छठ पर्व मनाउन अनुरोध गर्दै उपत्यकावासीमा शुभकामना पनि व्यक्त गरेको छ।
