नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले पदमा बहालीपछि पहिलो काम स्वरुप साइबर स्क्याम प्रतिकार्य केन्द्रको कार्यारम्भ गरेका छन् । गम्भीर प्रकारका साइबर अपराध नियन्त्रणका आईजीपी डा. केसीले साइबर स्क्याम प्रतिकार्यकोको सेवा सञ्चालनमा ल्याएका हुन।
गृह मन्त्रालयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन–२०८३’ बमोजिम सामाखुसीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको नयाँ भवनमा यो केन्द्र स्थापना गरिएको हो । नेपाल सरकारको २०८३ असोज २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्थापना भएको यस केन्द्रले साइबर ठगी नियन्त्रण तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, विद्युतीय भुक्तानी सेवा, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै स्थानबाट एकीकृत रूपमा काम गर्नेछन्।
साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना २४ सै घण्टा प्राप्त गर्न सम्पर्क अधिकृत तोक्नुका साथै १२४७ आकस्मिक फोन नम्बरको व्यवस्था गरिएको छ। केन्द्रले साइबर ठगीबाट हुने जोखिम न्यूनीकरण गर्दै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य लिएको छ।
अनलाइन माध्यमबाट हुने ठगीको उजुरी आएपछि परम्परागत अनुसन्धान र समन्वय प्रक्रियाका कारण पीडितको पैसा जोगिन नसक्ने अवस्था अन्त्य गर्न केन्द्रले कडा समय सीमासहितको कार्य सञ्चालन प्रवाह (वर्क फ्लो) निर्धारण गरेको छ । हटलाइन, सूचना प्रवाह लाइन, नागरिक एप, नेपाल पोलिस एप, केन्द्रको अनलाइन पोर्टल वा अन्य माध्यमबाट उजुरी प्राप्त हुनासाथ १० मिनेटभित्र मुद्दा व्यवस्थापन प्रणालीमा दर्ता गरी ‘रेफरेन्स नम्बर’ सिर्जना गरिने दाबी गरिएको छ । सोही १० मिनेटभित्रै फ्रड वा स्क्यामको प्रकृति र प्रवृत्ति हेरी घटनाको प्राथमिकीकरण टुंग्याइने पनि उल्लेख छ ।
केन्द्रले १० देखि ३० मिनेटभित्र बैंक, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकका अधिकृतले लाभग्राही खाता, वालेट खाताको कारोबार समय र रकम प्रवाहको ट्रेल तत्काल पहिचान गर्ने दिग्दर्शनको कार्यसञ्चालन प्रवाह चार्टमा उल्लेख छ । केन्द्र स्थापनाको मुख्य लक्ष्य नै पीडितको रकम बाहिरिन नदिनु रहेको साइबर ब्युरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जनाए ।
नयाँ आईजीपीको पहिलो एक्सन, साइबर ठगी रोक्न एकै छानामा प्रहरी
नयाँ आईजीपीको पहिलो एक्सन, साइबर ठगी रोक्न एकै छानामा प्रहरी
तपाईको प्रतिक्रिया
