बालेन र रविबिचमा अन्तरद्धन्द्ध बढ्योे भन्ने हल्लापछि रास्वपा सभापति रवि लामिछानेले कुनै मतभेद नभएको स्पष्ट पारेका छन । सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ भन्ने पार्टीको नीति रहेको उनले बताएका छन । पार्टी र सरकारले गरेका कतिपय कामको स्पष्टता खोज्दा अन्तरद्वन्द्व बढ्यो वा सम्बन्ध बिग्रियो भनेर नबुझ्न पनि लामिछानेले आग्रह गरेका छन । पार्टी कामको सिलसिलामा केही दिनका लागि गृह जिल्ला चितवन पुगेका सभापति रवि लामिछानेले दुई वटा स्पष्ट सन्देश दिएका छन् ।
सञ्चारकर्मीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै लामिछानेले सञ्चारगृहमा भएको प्रहरी धरपकड र आईजीपीको जिम्मेवारी फेरबदल सम्बन्धमा सरकारको कदममाथि प्रश्न उठाए । साथै, पार्टी र सरकारबिच अन्तरविरोध बढ्दै गएको आरोपको खण्डन गरे । यतिमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले चितवनमा गरेको सम्बोधनले पार्टीपंक्तिलाई तरंगित बनाएको छ ।रास्वपाकै संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले सभापतिले ‘सिधाकुरा’ शैलीमा बोलेको भनेर फेसबुकमा लेखेका छन् ।
लामिछाने पार्टीभित्र झांगिएको विकृति र पदलोलुपताप्रति निर्मम सुनिए । पार्टी नेतृत्वको सरकारप्रति सिधा टिप्पणी नगरे पनि घुमाउरोरुपमा सचेत गराए । लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा दृढता व्यक्त गरे ।यस्तै चितवनमा आफ्ना कार्यकर्तामाझ सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीका नेता–कार्यकर्ताको व्यवहार तथा कार्यशैलीमाथि तीव्र असन्तुष्टि व्यक्त गरे ।उनले भने, ‘१८२ सिट छ भन्दैमा हाम्रो भुइँमा खुट्टा छैन । हामी तलदेखि माथिसम्म मातिएका छौँ । मान्छेलाई मान्छे गनेका छैनौँ ।’
जनमतले ठूलो पार्टी बनाउँदैमा वा हातमा पुलिस र प्रशासन छ भन्दैमा दम्भ देखाउने छुट कसैलाई नभएको लामिछानेले बताए । समाजले सत्य कुरा ऐना देखाउँदा त्यही समाज र मिडियामाथि जाइलाग्ने प्रवृत्ति राजनीतिक चरित्र हुन नसक्ने तर्कसमेत गरे । सरकारको आडमा मन्त्री र माननीय बनेका केही नेताहरूले जमिनको यथार्थ बिर्सिएको गुनासो गरे ।
‘हेर्दाहेर्दै माननीय भएका साथीहरूले तलका मान्छेलाई देख्दै नदेखेको जस्तो गरेर हिँडिरहनुभएको छ,’ उनले भने, ‘जनताले दिएको यो ऐतिहासिक अभिमत जनताकै हुर्मत लिनका लागि उपयोग नगर्नुहोला, जनताले सबै नियालिरहेका छन् ।’ लामिछानेले कसैले अपराध गरेको पाइएमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मात्र होइन, जोसुकैलाई पनि कारबाही हुने बताए ।
