पर्यटक बनि नेपाल आएर भिसाको उद्देश्य विपरीत काम गर्ने १० विदेशीलाई बालेन सरकारेल देश निकाला गरेको छ । ३ वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी देश निकाला गर्ने गरिएको छ । मोरङ कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक नाबालक सहित १० विदेशीलाई तीन वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।
पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्य विपरीत काम गरी अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा जनही ५० हजार रुपैयाँ जरिबाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो ।निष्कासित हुनेमध्ये ५ जना अमेरिका, २ ब्राजिल र ३ जना क्यानडाका छन् । तीमध्ये नाबालकलाई उनको आमाबुबासँगै प्रस्थान गराउने निर्णय भएको छ ।अध्यागमनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार विदेशी नागरिकले नेपाल प्रवेश गर्दा प्राप्त गरेको भिसाको प्रयोजनअनुसार मात्रै गतिविधि गर्न पाउँछन्। पर्यटक भिसामा आएका विदेशीले पर्यटन, भ्रमण तथा मनोरञ्जनजस्ता उद्देश्यमा सीमित रहनुपर्ने व्यवस्था छ। भिसाको प्रकृतिविपरीत काम गरेको पाइएमा जरिवाना, निष्कासन तथा निश्चित अवधिसम्म पुनः प्रवेशमा प्रतिबन्ध लगाउन सकिने कानुनी व्यवस्था छ।उनीहरूलाई निष्कासन गर्ने निर्णयसँगै अध्यागमनसम्बन्धी कानुनी प्रक्रिया पूरा गरी नेपालबाट बाहिर पठाउने व्यवस्था मिलाइएको जनाइएको छ।
नेपालमा विदेशी नागरिकको आवागमन तथा बसाइलाई व्यवस्थित गर्न अध्यागमन विभागले भिसाको प्रयोजनअनुसार गतिविधि भए–नभएको अनुगमन गर्दै आएको छ। पर्यटक भिसाको आवरणमा अन्य उद्देश्यका गतिविधि गर्ने विदेशी नागरिकमाथि कानुनअनुसार कारबाही हुने व्यवस्था छ। यस घटनाले नेपालमा पर्यटक भिसामा प्रवेश गर्ने विदेशी नागरिकले भिसाको निर्धारित प्रयोजन र अध्यागमन कानुनको पालना गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ। एक महिना अघि मात्र पनि नेपालमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा २४ दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले निष्कासित गरेको थियो ।
भिसाको उद्देश्यविपरीत कार्य गरेको र उनीहरूको आचरण शंकास्पद देखिएको भन्दै विभागले उनीहरूलाई नेपालबाट निष्कासित गरेको हो।अध्यागमन विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई विभागमा उपस्थित गराएको थियो।विभागले २४ जनाकै भिसा रद्द गर्दै जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। साथै, उनीहरूलाई निष्कासन गरिएको मितिदेखि तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ।
सोही निर्णयअनुसार असोज २८ गते उनीहरूलाई निष्कासित गरिएको विभागले जनाएको छ।उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालाती मार्गको सुन्दरडाँडा क्षेत्रमा रहेको नेपाल न्यु कोभेनान्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए। पर्यटक भिसामा नेपाल आएका उनीहरू धार्मिक गतिविधिमा सहभागी भएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले भिसा प्राप्त गर्दाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएको अध्यागमन विभागले जनाएको छ।
