काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको अदालतमा जुन कहालिलाग्दो र मानवतालाई नै गिज्याउने बयान बाहिर आएको छ, त्यसले मानवसमुदायलाई नै स्तब्ध बनाएको छ। नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणका अभियुक्त उनकै श्रीमान् नरेश भट्टले अन्ततः आफ्नो मुख खोलेका छन् ।
तर अहिले नरेश भट्टको बयान कुनै डरलाग्दो हलिउड थ्रिलर चलचित्रको पोटासियमयुक्त विषभन्दा हजार गुणा बढी भयानक छ। महिनाौंसम्म प्रहरीको अनुसन्धानलाई छल्नका लागि नाटक र झूटको खेती गरिरहेका नरेशले अदालतसमक्ष जुन क्रूर सत्य कबुल गरेका छन्, त्यसले एउटा पतिले पत्नीप्रति राख्ने विश्वास, प्रेम र पवित्र सम्बन्धको धज्जी उडाएको छ, भने मान्छे कसरी एउटा संवेदनाहीन जन्तुमा परिणत हुन सक्छ भन्ने कुरा प्रमाणित गरेको छ ।
घटनाको विवरण कोट्याउँदा मात्रै पनि शरीरका रौँ ठाडा हुन्छन् दर्शकवृन्द । सन् २०२४ जुलाई ३० को बिहान उनले ममतालाई आफ्नो बेडरुमको भुइँमा मृतावस्थामा फेला पारेको नरेशले अदालतमा बयान दिएका छन् ।
उनका अनुसार ममताले बान्ता गरेकी थिइन् । बान्तामा रगत, क्याप्सुल र कृषि क्षेत्रमा कीरा मार्न प्रयोग हुने विषालु रासायनिक पदार्थ ‘सेलफोस’ का अवशेषहरू विद्यमान थिए। यदि कुनै पनि सामान्य मान्छेले आफ्नो पत्नीलाई आफ्नै घरको कोठामा यसरी संकास्पद र मृत अवस्थामा भेट्टाउँछ भने उसको पहिलो र स्वाभाविक प्रतिक्रिया के हुन्छ? ऊ आत्तिएर चिच्याउँछ, आपत्कालीन सेवा ९११ मा फोन गर्छ, एम्बुलेन्स बोलाउँछ र प्राण बचाउने अन्तिम प्रयास गर्छ। तर, नरेशले त्यसो गरेनन्। उनले त ममताको प्राण गएको वा गइसकेको निश्चित गरेपछि जुन दानवीयी निर्णय लिए, त्यो मानव जातिकै इतिहासमा कलंक हो ।
नरेशले आफन्त वा प्रहरीलाई खबर गर्नुको सट्टा विद्युतीय आरा र अन्य धारिला साधनहरू प्रयोग गरेर ममताको शवलाई टुक्रा–टुक्रा पार्ने पारेका थिए । उनले सुरुमा शरीरको तल्लो भाग अर्थात् खुट्टा अलग्याउने प्रयास गरे, रगतको बगिरहँदा त्यसलाई बाथरुममा लगे तर शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन उनले ममताको मृत शवलाई बाथरुपमै राखेका थिए ।
यति मात्र होइन, भित्रको रगत र गन्ध बाहिर नआओस् भनेर उनले छोरी सुतेको बेडरुममा ढोका लगाएर सामान राख्ने स्टेसनले छेक्ने काम पनि गरेको खुलेको छ । त्यसपछि उनी सामान्य नागरिकझैँ नाबालक छोरीलाई स्याहार्न, दूध खुवाउन र सुताउन गए। जसको आमाको लासलाई उनी आफैँले आराले काटेर टुक्र्याउँदै थिए, त्यही अबोध बालिकाको छेउमा गएर सुत्ने आट गर्ने नरेश कुन माटोबाट बनेको प्राणी होलान्, जोसँग मानवता भन्ने चिज एक रत्ति पनि बचेको छैन् ।
अदालतमा बयान दिँदा उनले त्यो रात आफूलाई डर लागेका कारण घरको पूजा कोठामा पनि जान नसकेको बताएका छन्। प्रहरीले उनको बेडरुम र बाथरुममा रगतका टाटा र कपालका टुक्रा अड्किएको आरा बरामद गरेपछि नरेशको यो कर्तुतको पर्दाफास भएको हो ।
सुरुका दिनहरूमा ममताले आफूलाई छाडेर गएको, सम्बन्धविच्छेदको धम्की दिएको भन्दै प्रहरी र समाजलाई भ्रमित पार्ने नरेशको जालसाजीपूर्ण प्रपञ्च अन्ततः अदालतको कठघरामा च्यातिएको छ। तर विडम्बना यो छ कि ममताको शवका टुक्राहरू अहिलेसम्म फेला पार्न सकिएको छैन ।
नरेश भट्टले अदालतमा दिएको बयान केवल एउटा हत्याको कबुल मात्र होइन, यो उनीहरूको बिग्रँदै गएको वैवाहिक सम्बन्धको एउटा विकृत दस्ताबेज पनि हो। उनले ममतासँगको सम्बन्ध निकै बिग्रँदै गएको र उनीहरूबीच दिनहुँ झगडा हुने गरेको कुरा उनैले बयानमा दिएका छन् । ममताले आत्महत्याको धम्की दिने गरेको र आफूले पनि उनलाई मानसिक तनाव दिने गरेको स्वीकार गरेका नरेशले अन्ततः ममताको शवलाई टुक्रा टुक्रा पारेर नजिकैको नदीमा फालेको समेत बनाएका छन् ।
यता ममताका भाइ महेश काफ्ले र साथी सरिता न्यौपानेले अदालतमा दिएका बयानहरूले नरेशको यो दाबीलाई झुटो सावित गरेको छ। ममताले दाजु महेशलाई अनुहारमा नीलडाम र चोटपटक लागेका तस्बिरहरू पठाएर आफू घरमा सुरक्षित नरहेको कुरा पहिले नै बताइसकेकी थिइन्। फेब्रुअरी १४ को भ्यालेन्टाइन डे का दिन उनीहरूको विवाद उत्कर्षमा पुगेको थियो, उनीहरुको संयुक्त खाताबाट १ हजार डलर निकालिएको विषयलाई लिएर नरेशले ममतामाथि मानसिक यातना समेत दिएका थिए । ममताले आफ्नो छुट्टै बैंक खाता खोल्नु, ग्रिन कार्डलगायतका महत्वपूर्ण कागजातहरू लुकाइएको आरोप लगाउनु र प्रहरीलाई बोलाउनुले यो घरभित्र एउटा महिला मनोवैज्ञानिक त्रास र कुण्ठाको बन्दी बनेर बाँचिरहेकी थिइन् भन्ने देखाउँछ ।
अदालतमा प्रस्तुत गरिएका टेक्स्ट म्यासेजहरू र त्यसको नरेशले दिएको स्पष्टीकरणले उनको घिनलाग्दो चरित्रलाई उदाङ्गो पारेको छ। जब ममताले म्यासेजमा आफूलाई घरबाट निकालिएको महसुस भएको बताउछिन्, नरेशले त्यसको अर्थ घरमा स्वागत नगरिएको भनी चिसो प्रतिक्रिया दिएका थिए। अझ डरलाग्दो त के भने, ममतालाई चिढ्याउन र डाह गराउनकै लागि बेसमेन्टमा बस्ने विदेशी नागरिकसँग मिलेर कोलम्बियन केटी खोज्ने कुरा गरेको कुरा नरेशले स्वीकार गरेका छन्। ममताले आक्रोशित भएर ‘कृपया मलाई आत्महत्याका लागि उक्साउने काम नगर्नुहोस्’ भन्दा पनि नरेशले उल्टै ‘तिमी धेरै निष्ठुरी छौ, पैसाका लागि जे पनि गर्छौ, पछि कस्तो श्रीमान् पाउँछ्यौ’ भन्दै मानसिक रूपमा प्रताडित गरिरहेका म्यासेजहरू पठाएको खुलेको छ ।
अदालतमा बयान दिँदै गर्दा नरेशको जुन शारीरिक भाषा र हाउभाउ देखिएको थियो, त्यसले अमेरिकन जुरी सदस्यहरूलाई समेत चकित बनाएको थियो। कहिलेकाहीँ प्रश्नको उत्तर दिँदा उनी हाँस्ने, आँखा घुमाउने र निकै सहज रूपमा प्रस्तुत हुने गरेका थिए । आफ्नो अंग्रेजी भाषाको कमजोरी देखाएर सहानुभूति बटुल्न खोज्ने उनको यो नाटकले अदालतमा उल्टै उनको क्रूरतालाई उजागर गरेको छ। ममताको शव अहिलेसम्म फेला नपरे पनि घरमा भेटिएका रगतका टाटा, विद्युतीय आरामा टाँसिएको उनको कपाल, डीएनएनका रेसाहरू तथा नरेश आफैँले अदालतमा दिएको शव टुक्राएको बयान नै उनलाई आजीवन कारागार पुर्याउनका लागि पर्याप्त आधारहरू हुन्।
भर्जिनियाको यो दर्दनाक घटनाले केवल एउटा परिवारलाई मात्र उजाड बनाएको छैन, यसले वैदेशिक भूमिमा नेपालीहरूबीच मौलाउँदै गएको घरेलु हिंसा, पुरुषवादी अहम् र त्यसले निम्त्याउने विभीषिकाको डरलाग्दो चित्र अगाढी ल्याएको छ।
