काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व तराई मधेसको ऐतिहासिक तथा सांस्कृतिक नगर जनकपुरधाममा पुगेर मनाउने भएका छन्। तिहार, नेपाल संवत् तथा आस्था, श्रद्धा र समर्पणको महान् पर्व छठका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले जनकपुरधामस्थित प्रसिद्ध गंगा सागरको तटमा पुगेर छठ पर्व मनाउने जानकारी गराएका हुन्।
शुभकामना सन्देशमार्फत सभापति लामिछानेले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा निष्ठा र पवित्रताको प्रतीक छठ पर्वले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् भन्ने गहिरो कामना गरेका छन्। उनले यी चाडपर्वहरूले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव, एकता र पारस्परिक विश्वासलाई थप सुदृढ बनाउन ठुलो सहयोग पु¥याउने बताएका छन्। नेपाल जस्तो बहुसांस्कृतिक र विविधताले भरिएको राष्ट्रमा यस्ता पर्वहरूले विविधताबिचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा रहेको छ।
नेपालका मौलिक चाडपर्वहरूले नेपालीहरूलाई आपसमा जोड्ने बलियो सूत्रको रूपमा काम गर्दै आएका छन्। यसैक्रममा रास्वपा सभापति लामिछानेको जनकपुरधाम यात्रालाई सांस्कृतिक र सामाजिक सद्भावका दृष्टिकोणले विशेष महत्त्वका रूपमा हेरिएको छ। जनकपुरधामको गंगा सागरमा लाग्ने छठ पर्वको मेला र त्यहाँ हुने पूजाआजामा लाखौँ श्रद्धालुहरूको सहभागिता रहने गर्दछ। धार्मिक र सांस्कृतिक रूपले अति महत्वपूर्ण मानिने गंगा सागरमा यसपटक राजनीतिक दलका शीर्ष नेताको उपस्थिति हुने भएपछि स्थानीय स्तरमा पनि थप उत्साह देखिएको छ।
छठ पर्वमा सूर्य देवता र छठी माताको पूजा आराधना गरिन्छ, जसले प्रकृतिको पूजा गर्ने हाम्रो प्राचीन परम्परालाई उजागर गर्दछ। विशेष गरी मधेस प्रदेश र तराईका जिल्लाहरूमा धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय देशका अन्य भागहरूमा पनि उत्तिकै लोकप्रियताका साथ मनाउन थालिएको छ। सभापति लामिछानेले चाडपर्वका बेला सबै नेपालीहरूले आपसी भेदभाब बिर्सेर एकताबद्ध भई खुसियाली साटासाट गर्नुपर्ने सन्देश दिएका छन्। उनको यो जनकपुरधाम भ्रमणले आम नागरिक तथा पार्टीका कार्यकर्ताहरूसँगको सामीप्य अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
चाडपर्वको यस उल्लासपूर्ण वातावरणमा सांस्कृतिक उत्सवमा सहभागिता जनाउनुले समाजमा थप सकारात्मक ऊर्जा र सद्भावको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
