काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन्। शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा चीन भ्रमणको तयारी, उठाइने एजेन्डा तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीच विशिष्ट सम्बन्ध रहेको औंल्याउँदै त्यसलाई थप मजबुत बनाउन यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार व्यापार, व्यवसाय, प्रविधि, पर्यटन र कृषि लगायतका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो।
दुई देशबिचको कूटनीतिक सम्बन्ध, आर्थिक साझेदारी र विकासका सम्भावनासँग गाँसिएकाले यो भ्रमण केवल पर्यटकीय घुमघाममा मात्र सीमित हुन नहुने धारणा प्रधानमन्त्रीले राखेका थिए ।
चीनको प्रविधि, आर्थिक विकास र विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवबाट नेपालले लाभ लिन सक्ने विषयलाई भ्रमणका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिएको जानकारी प्रमुख सचेतक बुर्लाकोटीले दिएका छन् । भेटका क्रममा प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण फलदायी हुनुपर्छ। भ्रमण केवल घुमघाममा सीमित नभई आर्थिक साझेदारी र विकासका सम्भावना खोज्न केन्द्रित हुनुपर्छ।’
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानको भ्रमण गर्नेछ।
