काठमाडौं । नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘एउटै पार्टीमा बसेर गरिने संसदीय ह्विप उल्लंघन गम्भीर राजनीतिक अपराध भएको’ बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले राजनीतिमा विचारका आधारमा ध्रुविकरण स्वभाविक मानिएपनि संसदीय दलका ह्विप उल्लंघन गर्नु भनेको गम्भीर राजनीतिक अपराध भएको बताएका हुन् ।
शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णाली प्रदेशका चार जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरूले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएकाले मात्र उनको सरकार जोगिएको हो ।
केपी शर्मा ओली र माधव कुमार नेपाल–झलनाथ खनालबीचको विवादको असर कर्णालीमा देखिएको हो । पछिल्लो एमालेका दुवै पक्षले समानन्तर गतिविधि गर्दै आएका छन् ।
