काठमाडौं। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सूर्यविनायक–धुलिखेल सडक आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन र देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्। सोमबार काठमाडौंमा आयोजनाका पदाधिकारीहरूसँग भएको छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा काभ्रे–२ का सांसद बदन कुमार भण्डारी, भक्तपुर–१ का सांसद रुकेस रन्जित र आयोजना प्रमुख विजय कुमार महतोको उपस्थिति रहेको थियो। छलफलका क्रममा भक्तपुर, सूर्यविनायक र बनेपा क्षेत्रमा रहेका विद्युत्का पोल सार्ने, सडक सीमाभित्रका घर तथा संरचना हटाउने र इन्टरसेक्सनका अवरोधहरू तत्काल हटाउन सम्बन्धित निकायहरूलाई समन्वय गर्न भनिएको छ।
यसैगरी, बनेपा बजार क्षेत्रका विभिन्न इन्टरसेक्सन तथा पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेर समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको छ। म्याद थप गर्दा पनि जगती, महादेव खोला र पुण्यमाता पुलको भौतिक प्रगति मात्र १२ प्रतिशत रहेको, सूर्यविनायक–साँगा खण्डको ५३ प्रतिशत र साँगा–धुलिखेल खण्डको ७४ प्रतिशत काम मात्र सकिएकामा समीक्षा गर्दै बाँकी काम तोकिएकै समयमा सक्न कडा निर्देशन दिइएको छ।
