रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापा दुई महिनाअघि स्ट्रोकबाट थलिएकी थिइन्। हात झमझमाउने, लुलो हुने र बोली लरबराउने समस्या आएपछि परिवारले उपचारका लागि भारतसमेत लैजाने प्रयास गरेको थियो। तर त्यहाँ चार लाख भारतीय रुपैयाँ खर्च लाग्ने भएपछि आफन्तको सल्लाहमा उनीहरू काठमाडौं मेडिकल कलेज (केएमसी) आए।
केएमसीमा न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको टोलीले उपचार गर्यो। जाँचमा मस्तिष्कको मुख्य नसा करिब ९० प्रतिशत साँघुरिएको पत्ता लाग्यो। चिकित्सकहरूले खुट्टाको धमनीबाट क्याथेटर पठाएर बेलुन एन्जियोप्लास्टी र स्टेन्टमार्फत नसा फराकिलो बनाए। ठूलो चिरफारबिनाको यो उपचार सफल भयो।
प्रक्रिया सकिएको एक घण्टामै सुधार देखियो। दुई दिनपछि उनी डिस्चार्ज भएर खुसी हुँदै घर फर्किइन्। हेमकुमारीले डाक्टर र नर्सहरूलाई धन्यवाद दिँदै भनिन्, “उहाँहरूले राम्रो उपचार र माया दिनुभयो। म निकै खुसी छु।”
