भदौ १० गते भोटेकोशीको बाढीले सर्वस्व गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोल काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफल निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज भएकी छन्। पति राजकुमारले मिर्गौला दान गरेका थिए र उनी पनि पत्नीसँगै घर फर्किएका छन्।
बाढीले घर र उपचारका लागि जम्मा गरेको पैसासमेत बगाएपछि जीवन–मृत्युको दोसाँधमा पुगेकी उनीबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि केएमसी सञ्चालक डा. सुनीलकुमार शर्माले सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेका थिए। प्रत्यारोपण सफल भएपछि डंगोल दम्पतीले चिकित्सक टोलीप्रति भावुक हुँदै आभार व्यक्त गरेका छन्।
राजकुमारले भने, “हाम्रो सर्वस्व बगायो भन्ने पीडा थियो, तर आज भगवान रुपी सुनील सरले नयाँ जीवन दिनुभयो। उहाँप्रति कोटी–कोटी नमन।”
केएमसीमा अहिलेसम्म गरिएका सबै मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन्। विष्णुकुमारी यस अस्पतालकी ८६औँ सफल प्रत्यारोपण बिरामी हुन्।
