जुलाई महिना धर्तीमा स्फूर्तिदायक शितल, जुनेली रातमा जुनकिरी टर्च बालेर घुम्न निस्किन्छन् गगनमा। बाहिर लकडाउन छ भन्छन्। के गर्नु! मान्छेका दुःख लक भएका होइनन्।
धेरै दिन भयो केही नलेखेको। यो मन केही कुराको खोजिमा भौतारिरहन्छ। केही लेख्न खोज्छु, कलम र कपिको समायोजन हुन सक्दैन। अनयासै दिमागमा आउँछ प्रेम! लेखेरै लेख्न सकिने त होइन प्रेम! तर पनि आफ्नो मनको अनुभूति बयान गर्न मन लाग्छ अनि केर्न खोज्छु खाली पन्नामा।
प्रेमलाई भिन्नभिन्नै ढंगले पुकारे मान्छेले। मान्छेका भिन्न भिन्नै अनुभूति जस्तै यसबारे आफ्नै अनुभूति छ मेरो पनि। समयको प्यारो बन्न सकेमा त्यसको बेलिविस्तार पनि पुस्तकबाटै गर्ने तीव्र चाहना छ।
कसरी उम्रिन्छ हाडनाता बेगरको प्रेम? देखभेट हुनुपर्ने अनिवार्यता छ? पार्क/चौतारीमा एउटै ढुङ्गामा बसेर प्रणयलिलामा डुब्नुपर्छ? कलेज/क्याम्पसमा बेन्चमेट बनेर अन्जानमा एकअर्कामा कुहिनो ठोकाठोक भएको अभिनय गर्नुपर्छ?
होटल/रेष्टुराँ पुगेर टेबल भनिने काठजडित फ्ल्याकमा आम्ने-साम्ने बसेर अनुहार हेर्दै चिया/कफिको चुस्को लिनुपर्छ? वा दोहोरी, डान्सबार, क्लब पुगेर गीत नबुझेपनि मदिराको तालमा जिउ हल्लाउँदै चक्कर लगाएर नाच्नुपर्छ? त्यसो नहुँदो रहेछ।
जब कामदेवले वाण चलाइदिएपछिको प्रेम त नदेखेर पनि हुन्छ। नभेटेर पनि हुन्छ। बोली सुनेरै, तस्बिर हेरेरै, अरुबाट उसको वर्णन सुनेरै प्रेम भएका कति किंवदन्ती जिवितै छन् मेरो मनसपटलमा। म यो सबै यस मानेमा भन्दै छु कि, म पनि एउटा प्रेमी हुँ, जो एकतमास भएर उसलाई प्रेम गरिरहेछु।
प्रेम भनेको प्राप्ति मात्रै होइन, समर्पण पनि हो भनेर राधा कृष्णको प्रेम पुजेको सुनेरै हुर्किएपनि प्राप्तिको भोक हुने नै रहेछ। सायद यही होला प्रेमले जन्माएको मोह।
त्यही मोहले गर्दा मेरो प्राप्तिको भविष्य देखेकी छैन, मैले यद्यपि प्रेम त मेरो रगतमा प्रवाहित भएको अनुभूति हुन्छ। कहिलेकाहीँ मनमा यसरी खेल्दछन् कि कुरा आफैमा प्रश्नको खात लाग्दछ।
