ललितपुरको सानेपामा आइतबार रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। रेडियन्ट रिडर्स एकेडेमीको प्राङ्गणमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालित शिविरमा १ हजार १२७ जनाले सेवा लिएका छन्।
केएमसीका २९ जना विशेषज्ञ चिकित्सकको टोलीले जनरल मेडिसिन, स्त्रीरोग, सर्जरी, हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, आँखा र दन्त सेवा दिएको थियो। आँखा परीक्षणमा सबैभन्दा बढी १९६ जना, जनरल मेडिसिनमा १६९ जना र नाक–कान–घाँटीमा १०१ जनाले सेवा लिए। दन्त सेवामा ६ जनाको दाँत निकालिएको थियो भने ८४ जनाको इसिजी, १०२ जनाको भिडियो एक्स–रे र १३९ जनाले प्रयोगशाला परीक्षण गराएका थिए।
थप उपचार आवश्यक देखिएका १९ जनालाई केएमसीमा सिफारिस गरिएको छ। केएमसीले शिविरका सेवाग्राहीलाई असोज महिनाभर ५० प्रतिशत र त्यसपछि २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ।
शिविर संयोजक मदन श्रेष्ठ र सहकारी व्यवस्थापक खगेन्द्र ढुंगानाले सफल आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
